TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss

‘भारत ००७ सालको मानसिकताबाट मुक्त हुनुपर्छ’

  • Interview by 
‘भारत ००७ सालको मानसिकताबाट मुक्त हुनुपर्छ’
मेरो आफ्नो दृष्टिकोणमा नेपाल र भारतबीचको सम्वन्ध सामान्य अवस्थामा छ । विगतमा नयाँ संविधान जारी भइसकेपछि जुन किसिमको तिक्तता र असमझदारी थियो, त्यो हटिसकेको छ । र, त्यसपछि दुई देशका सम्वन्ध सामान्य ढंगबाट अगाडि बढेको छ भन्ने मलाई लाग्छ ।

 

चारबुँदे ननपेपर र स्वनामधन्य बुद्धिजिवी

हामीकहाँ केही राजनीतिक दल, बुद्धिजिवी र सञ्चारमाध्यम पनि दुई देशको सम्वन्ध जस्तो संवेदनशील विषयमा अलि गैरजिम्मेवार ढंगले प्रस्तुत हुन्छन् । त्यसले दुई देशको सम्वन्धलाई कसरी नकारात्मक प्रभाव पार्छ भन्ने भन्दा पनि आफ्नो राजनीतिक स्वार्थसिद्धी कसरी हुन्छ र क्षणिक प्रोपोगाण्डा कसरी हुन्छ भनेर हेर्ने अवस्था छ ।

मधेस आन्दोलनका क्रममा उठेका मागहरुलाई सम्बोधन गर्ने सिलसिलामा सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी दल कांग्रेसले एउटा रोडम्याप तयार गरेको हो । त्यो रोडम्यापमा चार वटा स्टेपहरु थिए ।

पहिलोःसमानुपातिक समावेशी सुनिश्चित गर्न कांग्रेसकै नेतृत्वमा रहेको सरकारको पालामा संसदमा दर्ता गराइएको संविधान संशोधन प्रस्तावलाई कार्यान्वयन गर्ने ।

दोस्रोःसीमांकन लगायतका समस्याहरुको समाधानका निम्ति राजनीतिक समिति गठन गर्ने र त्यो राजनीतिक समितिले दिएको प्रतिवेदनका आधारमा संविधान  संशोधन गर्ने ।

तेस्रोःअन्य विषयहरुलाई पनि सहमतिका आधारमा सम्बोधन गर्ने र, चौथोः मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार गर्ने, मृतकलाई क्षतिपूर्ति दिने आदि थिए ।

यो सहमति म दिल्ली गएको बेलामा स्वभाविक रुपले भारतीय नेताहरुले मधेस आन्दोलन, संविधानको कार्यान्वयनबारे जिज्ञासा राखेपछि मैले उहाँहरुलाई हामी यस ढंगबाट अगाडि बढिराख्याछौं भनेर सामान्य जानकारी गराएको हो ।

नेपालको आन्तरिक मामिलामा बाहृय शक्तिको हस्तक्षेप निम्त्याउने गरी प्रधानमन्त्रीले चिठ्ठी पठाउनु भएको छ भन्ने कुरामा विश्वास नै गर्दिन । अनावश्यक ढंगबाट प्रोपोगाण्डा गर्ने, राजनीतिकरण गर्ने काम भइरहेको छ

म नेपाल फर्केर आउँदा त यहाँका केही राजनीतिक दल, केही र आमसञ्चार माध्यमले कमल थापाले चारबुँदे मार्गचित्र भारतीय नेताहरुलाई हस्तान्तरण गर्नु भो भन्ने प्रापोगाण्डा मच्चाइसकेछन् । यति गैरजिम्मेवारी पूर्ण काम भो, जसको मैले त्यो बेलामा पनि खण्डन गरेँ । तर, त्यसले क्षति गरिसकेको थियो । तर, पनि अहिले पनि बारम्बार त्यो कुरा उठिरहन्छ ।

मैले बारम्बर भनिरहेको छु कि मधेस केन्द्रीत दलहरुले सञ्चालन गरेको आन्दोलन नितान्त आन्तरिक मामिला हो ।

नेपालको आन्तरिक मामिलाका बारेमा, संविधान संशोधनका बारेमा भारत सरकारसँग परामर्श गर्ने, सल्लाह अनुसार गर्ने भन्ने प्रश्नै आउँदैन । यो कुरा मैले पचासौंचोटि भनिसकेको छु । तर, निहित स्वार्थ भएका व्यक्तिहरु बारम्बार त्यसलाई उठाइरहनु भएको छ ।

स्वयंम भारतले भनेको छ कि नेपालको आन्तरिक मामिलामा हाम्रो कुनै ‘प्रेस्क्रिप्सन’ छैन । के गर्नुपर्छ भन्ने हामीले नेपाल सरकारलाई भनेका छैनौं र भन्दैनौं ।

त्यो नेपालको आन्तरिक मामिला हो भनेर भारतीय नेताहरु भनिरहनु भएको छ । उहाँहरु यति मात्र भनिरहनु भएको छ कि नेपालमा शान्ति होस्, स्थिरता होस् र संविधानमा सबैको सहभागिता होस् भनेर सदासयता मात्र व्यक्त गरेका छौं । तर, यहाँ अनेक प्रचार गरेर हिँडिन्छ । यो विडम्बनापूर्ण छ ।

प्रचण्डको चिठ्ठी र एमालेको प्रोपोगाण्डा

म एउटा परराष्ट्रमन्त्री र देशको उपप्रधामन्त्री भइसकेको व्यक्तिले नेपालको आन्तरिक मामिलामा बाहृय शक्तिको हस्तक्षेप निम्त्याउने गरी प्रधानमन्त्रीले चिठ्ठी पठाउनु भएको छ भन्ने कुरामा विश्वास नै गर्दिन । यसलाई अनावश्यक ढंगबाट प्रोपोगाण्डा गर्ने, राजनीतिकरण गर्ने काम भइरहेको छ । दुई देशको सम्वन्धलाई यस्तो गैरजिम्मेवार ढंगबाट कसैले पनि व्यवहार गर्नु हुँदैन ।

वास्तवमा हेर्नुस्, प्रधानमन्त्रीजीले विशेष दूत पठाइसकेपछि पत्र लेखिराख्नु पर्ने आवश्यकता पनि होइन । जे कुरा भन्नु पर्थ्यो, त्यो उहाँले नै भन्न सक्नुहुन्थ्यो ।

जसलाई विशेष दूत बनाएर पठाइएको थियो, उहाँहरु चिनाइराख्नु पर्ने व्यक्ति पनि होइन । त्यसकारण छुट्टै पत्र लेख्नु पर्ने आवश्यकता थिएन ।

अब परराष्ट्र मन्त्रालयले कसरी यो सल्लाह दियो वा परराष्ट्रको सल्लाह विना नै प्रधानमन्त्रीले त्यो चिठी लेख्नु भो मलाई थाहा छैन । तर, चिठी लेख्नु भयो भने पनि आन्तरिक मामिलामा वा संविधान संशोधनका विषयमा भारत सरकारको राय, सुझाव, सहयोगका निम्ति आग्रह गर्नुभयो होला भन्ने म कल्पना पनि गर्न सक्दिँन ।

उहाँलाई के आग्रह गर्न चाहन्छु भने जे भएपनि पत्र विवादमा परेको छ । यसलाई हामीले लामो समयसम्म रहस्यमा राख्नु हुन्न । प्रधानमन्त्री कार्यालय वा परराष्ट्र मन्त्रालयले केही राजनीतिक दलका शीर्ष नेताहरु वा सम्वन्धित व्यक्तिहरुलाई त्यसबारेमा जानकारी गराउने काम गर्दा पर्याप्त हुन्छ । र, म प्रमुख प्रतिपक्ष लगायतका दलहरुलाई पनि आग्रह गर्न चाहन्छु कि यो निरर्थक विवादमा अल्झिएर काम छैन ।

सरकार फेरिनासाथ प्रधानमन्त्रीले भ्रमण गर्नुपर्दैन

सरकार फेरिने वित्तिकै छिमेकी देशहरुको भ्रमणमा जानुपर्छ भन्ने नै मलाई लाग्दैन । सरकार त एउटा आन्तरिक राजनीतिक कारणले गर्दा भइरहन्छ । तर, दुई देशको सम्वन्धका आधार र नीति सरकार फेरिँदैमा परिर्वतन हुने होइन, निरन्तरता पाउँछ ।

केही महिना अगाडि मात्र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जानु भो, महत्वपूर्ण सहमति र सम्झौताहरु भएको छ । र, अहिले तत्कालै भारतसँग गर्नु पर्ने नयाँ सहमति र सम्झौता केही छ जस्तो मलाई लाग्दैन । त्यसअर्थ प्रधानमन्त्रीजीको यो भ्रमण नितान्त सद्भाव (गुडविल) भ्रमण हुनेछ । र, सद्भावपूर्ण भ्रमण भएकाले सद्भाव अभिबृद्धि गरेर आउनुमै उहाँले जोड दिनुभयो भने उपयुक्त हुन्छ ।

 

Kamal thapa 4

नेपाल भारत सम्वन्ध सुमधुर कि चिसै ?

समस्या भारत, भारत सरकार र भारतीय नेताहरु होइन । भारतभन्दा पनि आफूलाई भारतवादी ठान्ने नेपालका नेताहरु, बुद्धिजिवी र केही हदसम्म आम सञ्चार माध्यमको मानसिकता दोषी हो ।

दुई देशको सम्वन्ध सामान्य छ कि छैन, मैत्रिपूर्ण छ कि छैन भन्ने मापदण्ड के ? हामीले सरकार छोड्नुभन्दा अगाडि जुन/जुलाई महिनामा मात्र २३ वटा दुई पक्षीय बैठक बसेका छन् ।

यो भन्दा राम्रो सम्वन्ध के हुनसक्छ, कुनै समस्या आउनसाथ यहाँको परराष्ट्रमन्त्रीले त्यहाँको परराष्ट्रमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेर यो समस्या पर्‍यो, यसो गरौं भन्न सक्ने अवस्थामा हामीले पुर्‍याएका छौं । हरेक कुरा नियमित ढंगले चलिरहेको छ ।

होला केही नेताहरुको आ-आफ्नो मनमा व्यक्तिगतरुपमा केही होला । तर, दुई देशको आधारभूत सम्वन्ध चिसो थियो भन्ने म मान्दै मान्दिनँ । र, भारत सरकारले त्यसबेलामा प्रकाशित गरेको बाषिर्क रिपोर्टमा नै नेपालसँगको सम्वन्ध सुदृढ हुँदै गएको उल्लेख गरेको छ ।

पहिले संविधानबारे चिसो टिप्पणी गर्ने भारतले त्यो प्रतिवेदनमार्फत नेपालको नयाँ संविधान जारी भएपछि बहुदलीय प्रजातन्त्र सुदृढ हुँदै गएको स्वीकार गरिएको छ । मलाई लाग्छ, भारत नेपाल सम्वन्ध चिसिएको थियो भन्ने कुरा नेपालका केही नेताको मनोगत धारणा मात्र हो । यथार्थ त्यो होइन ।

हाम्रो सरकार भारतले ढाल्यो भन्दिन

तत्कालिन प्रधानमन्त्रीले सरकार ढालेको दोष कसलाई लगाउनुभो मलाई थाहा छैन । जहाँसम्म मलाई सोध्नुहुन्छ, हामीले कोही विदेशीलाईर् दोष दिने प्रश्नै छैन । हाम्रो आन्तरिक व्यवस्थापन सुदृढ रहृयो भने हाम्रो घर बलियो भयो भने छिमेकीले दखलअन्दाज गर्ने ठाउँ नै रहँदैन । म अरु कुनै देशलाई दोष दिने पक्षमा छैन ।

इतिहासको यर्थाथ र पर्सेप्सनल क्ल्यास

नेपाल भारत सम्वन्धको ऐतिहासिक परिपेक्षलाई विश्लेषण गर्दै जाने हो भने भारतप्रतिको हाम्रो निर्भरता रहेकै हो । राणाकालीन अवस्थामा तत्कालीन व्रिटिस साम्राज्यसँग निकटतम सम्वन्ध र एकप्रकारले अपिजमेन्ट पोलिसी राखेर दुई देशको सम्वन्ध अगाडि बढाएको हो ।

परराष्ट्रमन्त्रीको रुपमा मैले भारतीय नेताहरुलाई भनेको छु कि हामीले चीनसँग अलिकति सम्पर्क सम्वन्ध बढायौं भन्दैमा भारतको अहित गर्ने काम गर्‍यौं भनेर सोच्नु हुँदैन । ००७ सालको मानसिकताबाट हामी मुक्त हुनुपर्छ ।

१९४७ भन्दा अगाडि नेपालको द्वौत्य सम्वन्ध केवल दुई मुलुकसँग मात्र थियो । एक प्रकारले भन्ने हो भने अहिले भुटानको जस्तै अवस्थामा नेपाल रहृयो ।

००७ सालमा प्रजातन्त्र ल्याउने क्रममा भारतको भूमिका रहृयो । स्वयं राजा त्रिभुवन भारतको निर्वासनमा जानुपर्‍यो र, त्यो बेलाका क्रान्ति सञ्चालकहरुले भारतमै रहेर क्रान्ति सञ्चालन गरेको अवस्था थियो । राणा सरकार पनि सम्झौताका लागि भारत नै गएको हो । राम्रो-नराम्रो, तितो-मिठो जे भएपनि त्यो इतिहासको यर्थाथ हो ।

००७ सालमा प्रजातन्त्रसँगै त्यो प्रभाव पनि आउन खोज्यो । नेपालको क्याबिनेटमा भारतको प्रतिनिधि बस्दथ्यो । नेपालको क्याबिनेटको पहिलो माइन्यूट भारतीय प्रतिनिधिले अंग्रेजीमा लेखेका हुन् । राजा त्रिभुवनको सल्लाहकारको रुपमा भारतीय आएर दरबारमा बस्थे । तितो भए पनि त्यो यथार्थ हो ।

त्यसपछि विस्तारै हामीले आफ्नो अन्तराष्ट्रिय व्यक्तित्वलाई बढाउँदै अघि बढ्यौं । खासगरी राजा महेन्द्रको दुरगामी सोचाइ र त्यो बेलामा साथ दिने बीपी कोइराला, टंकप्रसाद जस्ता दुरगामी नेताहरुका कारण विस्तारै-विस्तारै हामीले भारतमाथिको निर्भरतामा आधारित परराष्ट्र नीतिलाई विस्तार गर्दै लग्यौं ।

हामी १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भयौं र त्यसपछि एक पछि अर्को गर्दै १९७० सम्ममा धेरै देशसँग सम्वन्ध स्थापित गर्‍यौं र अन्तराष्ट्रिय रंगमञ्चमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल भयौं । यो नेपालको राष्ट्रिय अस्तित्वको एउटा नयाँ रणनीतिक सोंच थियो ।

राणाकालीन अवस्थामा पनि आफ्नो अस्तित्व जोगाउनका निम्ति उनीहरुले एपिजमेन्टको पोलिसी लिएका हुन् । त्यो ठीक थियो, बेठीक थियो आफ्नो ठाउँमा छ, तत्कालीन परिस्थितिमा हेर्नुपर्छ । र, पछिल्लो क्रममा नेपालमा प्रजातन्त्र आएपछि तपाई हामीमा जुन किसिमको राष्ट्रियताको जुन चेतना छ, यो नयाँ परिवेशले निर्माण गरेको चेतना हो । ००७ सालका मान्छेको चेतना अर्कै थियो र छ । यो परिर्वतनमा नेपालमा पनि आएको छ र भारतमा पनि आएको छ ।

पर्सेप्सनल क्ल्यासका कारण अहिले पनि दुई देशको सम्वन्धमा कहिले-कहिले अलिकति असमझदारी आउँछ । परराष्ट्रमन्त्रीको रुपमा मैले भारतीय नेताहरुलाई पनि बताएको छु कि अब ००७ सालको मानसिकताबाट हामी मुक्त हुनुपर्छ । त्यो बेलामा ठीकै थियो होला, तपाईहरुले गर्नु भएको कुुरालाई म गलत भन्दिँन । तर, अहिलेको नेपाली जनताको मानसिकतामा परिवर्तन आएको छ ।

क्षेत्रीय र विश्व परिवेशमा पनि परिर्वतन आएको छ । यो अनुसार नेपाललाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ । मैले भनेको छु, हामीले चीनसँग अलिकति सम्पर्क सम्वन्ध बढायौं भन्दैमा भारतको अहित गर्ने काम गर्‍यौं भनेर सोच्नु हुँदैन । तपाईले यो कुरा बुझ्नुपर्छ कि आजभन्दा ५० वर्ष पहिला चीनसँग हाम्रो सम्वन्धको व्यवहारिक सम्भावना थिएन । अहिले हाम्रो सीमानामा रेल आउन थालिसक्यो ।

५० वर्ष अगाडि तिब्बतको अवस्था के थियो ? आज राइजिङ इकोनोमीमा गइरहेको छ । चीन दोस्रो विश्व महाशक्ति भइसक्यो । त्यहाँबाट हामीले फाइदा लिन खोज्यौं भने तपाईले भारतको अहित हुन लाग्यो, चीनतिर झुक्यो, चिनियाँ कार्ड खेल्यो भन्ने मानसिकता राख्नु हुँदैन । यो एक पटक ‘साइकोलोजिकल ब्यारियर’ हामीले तोड्नैपर्छ । हामीले गर्न खोजेका थियौं, दुभाग्र्यबस दिइएन ।

जबसम्म हामी यो तोड्दैनौं, तबसम्म हाम्रो इन्टरनेशल पर्सनालिटीलाई एसर्ट गर्ने र विकासको पनि नयाँ आयाम खडा हुनसक्दैन । त्यो मानसिकताबाट हामी पनि मुक्त हुनुपर्छ र भारतलाई पनि चित्त बुझाउनुपर्छ ।

साभार: अनलाईन खबर